बराहक्षेत्र नगरपालिकामा रहेका ७ जना वडाध्यक्ष ओली निकट समुहमा रहेको पाइएको छ । सदाबहार मिडिया प्रालिको अन्तरबार्ता कार्यक्रममा पत्रकार सुबिन विश्वकर्मासँग कुरा गर्दै नेकपा बराहक्षेत्रका सचिव गजेन्द्र थापाले वडा नम्बर ९ का अध्यक्ष दिपक लिम्बूबाहेक सबै अध्यक्ष ओली निकट समुहमा रहेको जानकारी दिएका छन्।
उनकाअनुसार नेकपा बराहक्षेत्रमा अन्य थुप्रै नेता तथा कार्यकर्तासमेत आफ्नो समुहमा ल्याउने र संगठन मजबुत गर्दै जाने योजना छ ।
संसद विघटन भएको केही दिनदेखि ओली निकट समुहमा लागेका थापा सोही समुहको बराहक्षेत्र संयोजक समेत हुन् । यद्यपि उनले आफ्नो नाम सिफारिसमा मात्र परेको तर बैधानिक संयोजक नभइसकेको जिकिर गरेका छन् ।
बराहक्षेत्रमा रहेका ११ वडामध्ये ८ वडा पूर्व एमालेले जितेको थियो । बराहक्षेत्र ३,४,५,७,८,१० र ११ का अध्यक्षहरु क्रमशः रुद्र दाहाल, आशाराम चौधरी, राजु अधिकारी, बीर बहादुर लिम्बू, फडिन्द्र भट्टराई, महेन्द्र बहादुर खत्री र केदार बिस्ट दुई खेमामा विभाजित नेकपाको अध्यक्ष ओली निकट समुहमा रहेको सचिव थापाको भनाई छ ।
नेकपा बराहक्षेत्रको समसामयिक तथा भावी योजनाका विषयमा गरिएको उक्त कुराकानी सदाबहार टिभीमार्फत संचालनरत कार्यक्रम `फायरफिल्टर´ बाट आउने बताइएको छ ।